
काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर चर्किएको राजनीतिक तनावका बीच प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बुधबार बिहान महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीले वालुवाटारमा देउवा र लेखकलाई बोलाएर वार्ता गरेका हुन्।
हालै सार्वजनिक भएको भिजिट भिसा दुरुपयोग प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन्। यसै सन्दर्भमा प्रधानमन्त्रीले सत्तारूढ दल र प्रमुख विपक्षी दलका शीर्ष नेताहरूसँग समन्वयात्मक छलफल गरेका हुन्।

प्रतिपक्षीहरूले गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा नगरेसम्म संघीय संसद्को नियमित प्रक्रिया अघि बढ्न नदिने चेतावनी दिएका छन्।
तीन नेताबीचको छलफलले राजनीतिक समाधानको सम्भावनाबारे केही आशा जगाए पनि अन्तिम निर्णय र सहमति भने सार्वजनिक भइसकेको छैन। भिजिट भिसा प्रकरण राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले गम्भीर बन्न थालेका बेला भएको यो छलफललाई अत्यन्तै संवेदनशील मानिएको छ।



