
काठमाडौं । अधिवक्ता राधिका खतिवडा नेकपा एमालेको आगामी ११औँ महाधिवेशनका लागि सर्लाही–२ बाट महिला क्लस्टरमा सर्वसम्मत प्रतिनिधि चयन भएकी छन्। गरीब, विपन्न र पीडितका मुद्दा निःशुल्क लड्दै आएकी उनी ‘गरिबकी वकिल’ भनेर परिचित छिन्।
एमालेको ११औँ महाधिवेशन काठमाडौंमा हुने भएकाले सर्लाही जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रतिनिधि सर्वसम्मत रूपमा टुंगिएको पार्टी स्रोतले जनाएको छ। खतिवडाको सक्रियता, संगठनमा बढ्दो भूमिका र जनस्तरमा भएको प्रभावलाई मध्यनजर गर्दै उनको नाम व्यापक चर्चामा आएको छ।

लामो समयदेखि अनेरास्ववियूको विद्यार्थी राजनीतिमा सक्रिय रहिएकी अधिवक्ता राधिका खतिवडा पछिल्लो करिब एक दशकयता कानुन व्यवसायमा एक सक्षम, प्रतिबद्ध र जनमुखी वकिलका रूपमा स्थापित भइसकेकी छिन्। आफ्नो प्रारम्भिक राजनीतिक यात्रामा नै सामाजिक न्याय, बराबरी र न्यायिक पहुँच विस्तारका सवाल उठाउँदै आएकी उनी अहिले पनि त्यही मूल्यमान्यतामा अडिग छिन्।
नेपालको न्याय प्रणालीमा अझै पनि “फीस नदिए मुद्दा अगाडि बढ्दैन” भन्ने सोच छ्याप्छ्याप्ती पाए पनि, राधिकाले त्यस मानसिकतामा प्रत्यक्ष चुनौती दिँदै आर्थिक रूपमा कमजोर, विपन्न, पीडित र आवाजहीन वर्गका लागि अदालतसम्म पहुँच सहज बनाइदिएकी छिन्।
अनेक वकिलहरू फीस नपाएसम्म फाइल छुन समेत हिच्किचाउने वातावरणमा राधिकाले पैसा नभए पनि न्याय पाइन्छ भन्ने धारणा व्यवहारमै प्रमाणित गरेर देखाएकी छन्।
उनी फौजदारीदेखि महिला हिंसा, घरेलु हिंसा, मानव बेचबिखन, श्रम शोषणजस्ता संवेदनशील मुद्दामा निःशुल्क कानुनी सहायता दिँदै आएकी छिन्। धेरै जना पीडितको लागि त राधिका नै पहिलो भरोसा बन्न पुगेकी छन्। कानुन पढेका धेरै युवाले उनलाई “पीडितको आवाज अदालतसम्म पुर्याउने साहसी वकिल” भनेर सम्मान गर्छन्।
राधिका खतिवडाको सक्रियताले न्यायिक क्षेत्रमै पीडितमैत्री कानुनी संस्कृति, समान पहुँच र समाजसेवी कानुनी अभ्यास सम्भव छ भन्ने उदाहरण जस्तै बनेको छ।
कानुन व्यवसायमा उनको योगदान दिनदिनै फैलिँदै जाँदा, उनी अब न्यायिक सुधार, सामाजिक न्याय र राजनीतिक नेतृत्व सबै क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सक्ने क्षमता बोकेकी व्यक्तित्वका रूपमा उदाएकी छिन्।
प्रतिनिधिमा चयन भएसँगै खतिवडाले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेकी छन्।




