
किन गुनासो मप्रति, गुरु?
म त व्यक्ति होइन, राष्ट्रको एक संस्था हुँ,
स्वतन्त्र छैन म, कर्तव्यका डोरले बाँधिएको छु।
कहिले तपाईंलाई टाढा बनाउँछु,
कहिले नजिकै तान्छु,
मेरो कर्तव्यको साँचोले, कहिले तपाईंको भरोसा जित्छु,
कहिले असन्तोषको काँडामा अल्झिन्छु।

तपाईंको व्यवहारले कहिले फूलझैँ प्रसंसा गरे,
कहिले तिखो आलोचना बनाइदिए।
तर तपाईंको शिक्षाले,
मलाई कहिल्यै कर्तव्यबाट चिप्लिन दिएन,
बरु आँधी र हुरीसँग लड्ने निडर हिम्मत सिकायो, गुरु।
राष्ट्रसेवा र कानुनको पुजारी बनेर,
कहिले तपाईंका आँखामा क्रोध देखेँ,
तर तपाईंले सिकाएको मानव धर्म,
मेरो हृदयमा गहिरो गरी गढिएको छ।
रणभूमिको रगतले रङिएको भूमिमा,
मेरो सास अन्तिम सम्म, तपाईंको सुरक्षामा समर्पित रहनेछ, गुरु।
“म”मा जे भए पनि आपत्ति छैन,
मेरो सबै पीडा र संघर्ष तपाईंको सुखका लागि हो।
बस तपाईं ठीक हुनुहोस्—
यही मेरो सौभाग्य, मेरो धर्म, मेरो अस्तित्व हो, गुरु।
लेखक — नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पृथ्वी थापा हुनहुन्छ !



