
म अपराधी भएर होइन,
महिला भएर यहाँ उभिएकी छु,
हातमा फलाम छ,
तर घाउ त नजरमा छन्—
जहाँ चरित्र हेर्छन्, प्रमाण होइन।
भीडले सोधेन,
“सत्य के हो?”
भीडले मात्र भन्यो,
“केटी हो, पक्कै दोषी हो।”

यही एउटा वाक्यले
मेरो सम्पूर्ण जीवनको फैसला गर्यो।
कानुनको ढोकामा उभिँदा
मसँग आँसु बाहेक केही थिएन,
आँसु पनि स्वीकार भएनन्—
किनकि रुने अधिकार
यहाँ दोषीलाई मात्र दिइन्छ।
आमाले सिकाउनुभएको थियो,
“छोरी, सत्य बोल्न नडराउनु।”
आज सत्य बोल्दा
मेरो आवाज नै अपराध बन्यो,
र मौन बस्नेहरू
न्यायका साक्षी कहलाए।
हत्कडीले दुखाउँदैन आमा,
दुखाउँछ त त्यो नजरले
जसले मेरो शरीरमा होइन,
मेरो अस्तित्वमै
दाग खोजिरहन्छ।
म निर्दोष छु भनेर कराउँदा,
मेरो स्वर पर्खालमा ठोक्कियो,
समाजको कान
सधैं जस्तै
नारीको पीडामा बहिरो रह्यो।
सायद मेरो गल्ती यत्ति हो—
म छोरी भएर जन्मिएँ,
र न्याय माग्ने साहस गरेँ।
नत्र यहाँ अपराध त
चुपचाप सहन नसक्नु रहेछ।
आज अदालत शान्त छ,
तर एक आमाको काख रित्तो छ,
किनकि न्यायले फेरि एकपटक
छोरीलाई होइन,
शंकालाई जितायो।
✍️जेनिशा घिमिरे



