धरान । सुनसरी प्रहरीले भारतबाट नेपाल ल्याइँदै गरिएको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ५ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको बिरपुरबाट खरिद गरिएको लागुऔषध नेपाल ल्याउँदै गर्दा उनीहरूलाई सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार गेट अगाडि सडक खण्डबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार बिहीबार राति विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय मनिष लिम्बू र धरान–११ का १९ वर्षीय मनिष राईलाई को.३८ प.७९६० नम्बरको स्कुटरसहित ५.९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । लागुऔषध स्कुटर चालक मनिष लिम्बूले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, भारतबाट पैदल आउँदै गरेका कोशी गाउँपालिका–४ निवासी २४ वर्षीय सम्साद मिया, इनरुवा नगरपालिका–४ का २० वर्षीय शिवदेव खत्वे र २० वर्षीय नितेश स्वर्णकारमध्ये शिवदेवको साथबाट २५० मिलिग्राम ब्राउन सुगर फेला परेको डिएसपी खतिवडाले जानकारी दिए ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



