
विराटनगर — मोरङ जिल्लामा विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका अभियुक्तहरूलाई लक्षित गर्दै प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत आइतबार एकै दिन ६० जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले लामो समयदेखि अदालतको फैसलापछि पनि सजाय भुक्तान नगरी भागिरहेका दोषीहरूलाई कानुनी दायरामा ल्याउन ‘फरार केन्द्रित अपरेशन’ सञ्चालन गर्दै आएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार असार १ गतेदेखि १५ गतेसम्मको अवधिमा मात्रै १९१ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

उनका अनुसार पक्राउ परेकाहरूबाट जम्मा ३४ वर्ष २ महिना १९ दिन कैद र ६ लाख २६ हजार १ सय ४९ रुपैयाँ जरिवाना असुल गरिएको छ।
चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म मोरङ प्रहरीले ९७९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। ती प्रतिवादीहरूमाथि अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिएको थियो। पक्राउ परेकाबाट २६२ वर्ष १ महिना २६ दिन कैद र १ करोड ४८ लाख ७३ हजार ९५३ रुपैयाँ जरिवाना असुल गरिएको डीएसपी चुँडालले जानकारी दिइन्।
पक्राउ परेका प्रतिवादीहरूलाई अदालतमा बुझाउने कार्य मोरङ प्रहरीले निरन्तर रूपमा गरिरहेको छ। अदालतको आदेश अनुसार कैद फैसला भएका प्रतिवादीलाई कारागार चलान गरिन्छ भने जरिवाना मात्र तोकिएकाहरूले रकम बुझाएर सजाय तिर्न सक्छन्। रकम तिर्न नसक्नेहरूलाई पनि कैद सजायअनुसार जेल चलान गरिन्छ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जघन्यदेखि सामान्य प्रकृतिका अपराधमा दोषी ठहर भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ कार्य तीव्र पारिएको बताए। “अदालतको फैसला कार्यान्वयन गर्न सूक्ष्म अनुसन्धानसहित विशेष टोली परिचालन गरिएको छ,” चिमरियाले भने, “यसले ‘अपराध गरे सजाय हुन्छ’ भन्ने सन्देश समाजमा स्पष्ट रूपमा प्रवाह गर्छ।”
उनका अनुसार अपराधमा संलग्न भएर भागिरहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउँदा समाजमा अपराधको दर न्यूनीकरण हुने विश्वास गरिएको छ। प्रहरीको यस अभियानलाई स्थानीय समुदायले पनि सकारात्मक रूपमा लिएको छ।



