
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्की भण्डारीले प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न प्रधानमन्त्रीबाट प्रदान गरिने व्यवस्था गर्न सुझाव दिएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा बोल्दै सांसद कार्कीले प्रहरीको मनोबल अभिवृद्धिका लागि यस्तो व्यवस्था आवश्यक रहेको बताइन्।

“प्रहरी प्रमुखलाई गृहमन्त्रीको उपस्थितिमा प्रधानमन्त्री स्वयंले दर्ज्यानी चिह्न प्रदान गर्नुपर्छ,” उनले भनिन्, “यसरी गरिँदा प्रहरीको मनोबल उच्च रहन्छ।” हाल प्रहरी प्रमुखलाई गृह मन्त्रालयका सचिवले दर्ज्यानी चिह्न प्रदान गर्दै आएका छन्।
सांसद कार्कीले प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताउँदै प्रहरीलाई राजनीतिक उपकरणका रूपमा प्रयोग गर्नु नहुने धारणा व्यक्त गरिन्। “प्रहरी निष्पक्ष र पेशागत हुनुपर्छ,” उनले भनिन्, “राजनीतिक प्रभावले प्रहरी सेवा कमजोर हुन्छ।”



