
काठमाडौं —महोत्तरी जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा अशोक कुमार यादवलाई घुस लिएको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै १ महिना कैद सजाय सुनाएको छ।
सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको क्षतिपूर्तिको रकम दिलाइदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि विशेष अदालतको इजलास — न्यायाधीश राम बहादुर थापा र रितेन्द्र थापाले यादवलाई दोषी ठहर गरेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ मंसिर ७ गते यादवलाई आफ्नै कुर्सीमुनिबाट घुससहित रंगेहात पक्राउ गरेको थियो। बरामद प्रमाणका आधारमा अदालतले उनीमाथि कारबाहीको फैसला गरेको हो।
यस घटनासँग जोडिएका अर्का अभियुक्त दिनेश प्रसाद साह भने प्रमाण अभावमा सफाइ पाएका छन्। अदालतले साहविरुद्धको दावी पुष्टि हुने कुनै वस्तुनिष्ठ प्रमाण नदेखिएको स्पष्ट पारेको छ।




