
बर्दिया — नेपाल प्रहरीका प्रदेश ५ कार्यालयका प्रमुख एआइजी सिद्धि विक्रम शाहले जिल्ला प्रहरी कार्यालय बर्दियाको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा उहाँले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै व्यावसायिक, प्रभावकारी र नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।
एआइजी शाहले निरीक्षणको क्रममा बर्दिया जिल्लामा अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा अवस्था तथा प्रहरीका हालसम्मका गतिविधिहरूको समीक्षा गर्नुभएको थियो। उहाँले प्रहरी सेवालाई अझ चुष्ट, दुरुस्त र समय सान्दर्भिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै हाल देखिएका चुनौतीहरूको सामना गर्न प्रहरी सदैव तत्पर रहनुपर्नेमा जोड दिनुभयो।

निरीक्षण पश्चात आयोजित सम्बोधन कार्यक्रममा एआइजी शाहले भन्नुभयो, “जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई समाजमा शान्ति सुरक्षा कायम राख्न तल्लिन रहनु नेपाल प्रहरी संगठनको गौरवमय परम्परा हो।” उहाँले प्रहरी कर्मचारीहरूलाई आफ्नो कर्तव्यबाट कहिल्यै विमुख नहुन र नागरिकसँग सहयोगी र उत्तरदायी भएर सेवा दिन आग्रह गर्नुभयो।



