
काठमाडौं, वैशाख १७ — गृह मन्त्रालयले तनहुँ, रामेछाप र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरूवा गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार गरिएको सरूवामा मन्त्रालयमा कार्यरत तीन जना सहसचिव र उपसचिवहरूको जिम्मेवारी फेरबदल गरिएको हो।
तनहुँमा कार्यरत सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा गरिएको छ भने मन्त्रालयमै कार्यरत सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँ पठाइएको छ। त्यसैगरी, सहसचिव बद्रिनाथ गैरेलाई दैलेखको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

रामेछापमा कार्यरत प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अर्याललाई भने मन्त्रालयमै फिर्ता बोलाइएको छ।
त्यसैगरी, मन्त्रालयमा रहेका सहसचिव बन्धुप्रसाद बास्तोलालाई विपद् व्यवस्थापन प्राधिकरणमा सरूवा गरिएको छ। साथै, दैलेखमा कार्यरत उपसचिव नवराज जैसीलाई पनि मन्त्रालयमै फिर्ता बोलाइएको गृह मन्त्रालयले जानकारी दिएको छ।
यस प्रकारको नियमित प्रशासनिक सरूवाले जिल्लास्तरीय प्रशासनिक संयन्त्रमा ताजगी ल्याउने अपेक्षा गरिएको छ।



