
काठमाण्डौ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले कुन्जाङ शेर्पालाई लैंगिक हिंसा विरूद्धको सन्देश समेटिएको ब्यानर हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा आईजीपी थापाले शेर्पालाई सफल, सुरक्षित र सहज आरोहणको शुभकामना व्यक्त गरे। साथै आरोहणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ र सहयोग पुर्याउने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिप्रति कृतज्ञता व्यक्त गरे।
सो अवसरमा नेपाल प्रहरी अपराध अनुसन्धान विभाग अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयकी प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र सगरमाथा आरोहण कार्यक्रमको संक्षिप्त जानकारी प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशकसहित वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।



