काठमाण्डौं— सुनसरीको कोशी गाउँपालिकाबाट अपहरणमा परेकी ७ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। बुधबार अपहरणमा परेकी कोशी गाउँपालिका-७, मुसहरी टोल बस्ने कुशेश्वर सदाको छोरी ईशु सदालाई जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको नेतृत्वमा बिहीबार उद्धार गरिएको हो।

प्रहरीका अनुसार बालिकालाई सुनसरीबाट सप्तरीतर्फ लैजाँदै गर्दा कोशी ब्यारेजको २६ नम्बर ढोकाबाट उद्धार गरिएको हो। घटनामा संलग्न अपहरणकारीलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

एसपी तिम्सिनाका अनुसार बुधबार दिउँसो १:५० बजे बालिका अपहरणमा परेको सूचना प्राप्त भएपछि डीएसपी योगराज खतिवडाको नेतृत्वमा नौ जना प्रहरीको टोली परिचालन गरिएको थियो। तत्कालै गरिएको प्रहरी परिचालनकै कारण बालिकालाई सकुशल उद्धार गर्दै अपहरणकारीलाई पक्राउ गर्न सफल भएको उनले बताए।

अपहरण गर्ने व्यक्ति सप्तरीको कञ्चनरुप नगरपालिका-१२, धरमपुर घर भएका जितेन्द्र साह (हलुवाइ) रहेको खुल्न आएको छ। बालिकालाई भारततर्फ लैजाने सम्भावना भएकाले नेपाल-भारत सीमा क्षेत्रमा समेत सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाइ छ।

बालिका घर अगाडि खेलिरहेको बेला साहले उनलाई सिटी सफारीमा राखेर अपहरण गरेको खुलेको छ। प्रहरीले घटनाको अनुसन्धान गर्न सीसीटीभी फुटेजको सहायतामा अभियुक्तको पहिचान गरी पक्राउ गरेको हो।

डीएसपी खतिवडाका अनुसार बालिकालाई अपहरण गर्नुको कारण जितेन्द्रले खुलाएका छैनन् ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय