काठमाण्डौं—नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ।

महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन्। ती सदस्यहरूमा रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन रहेका छन्। समितिले आजै आक्रमण गरिएका सञ्चारगृहहरूको अध्ययन गर्न जाने तयारी गरेको संयोजक बागचन्दले जानकारी दिएका छन्।

समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी तथा पीडितका परिवारसँग छलफल गरी घटनाको विस्तृत विवरण संकलन गर्नेछ। साथै, घटनाको यथार्थ विवरण र महासङ्घको आगामी कदमबारे सुझावसहित प्रतिवेदन पेस गर्ने जनाइएको छ।

शुक्रबार तीनकुने क्षेत्रमा पूर्वराजा समर्थित समूहहरूले आगजनी, तोडफोडलगायत अराजक गतिविधि गरेका थिए। सोही क्रममा प्रदर्शनकारीको आक्रमणका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय