
काठमाण्डौं— नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुग्ने सामग्री पोस्ट गरे कारवाही गर्ने चेतावनी दिएको छ । साइबर ब्युरोले बिहीबार सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।
‘जातीय भेदभाव, छुवाछुत र श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन साइबर ब्युरो सवैमा अनुरोध गर्दछ ।’

सूचनामा भनिएको छ — पछिल्लो समय सामाजिक सञ्जालहरू तथा Digital Platforms मार्फत समाजमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउन सक्ने खालका अभिव्यक्तिहरू पोष्ट गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य बढिरहेको प्रति नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरणको सृजना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुऱ्याउन सक्ने भएकोले त्यस्ता गतिविधिहरूलाई प्रोत्साहन नगर्न/नगराउन साथै त्यस्ता विषयसँग सम्बन्धित विषय वस्तुहरू सामाजिक सञ्जालमा सेयर समेत नगर्न हुन साइबर ब्यूरो अनुरोध गर्दछ ।
साथै, सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी समस्यामा पर्न सक्ने, जसको परिणाम स्वरूप कानुनी झमेलाको सामना समेत गर्नु पर्ने भएकोले सबै आम नागरिकलाई सामाजिक जिम्मेवारी बोध गरी सम्मानका साथ सामाजिक सञ्जालको प्रयोग गर्नु हुन साइबर ब्यूरो अनुरोध गर्दछ ।
त्यस्ता कार्यहरु भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा ई-मेल ठेगाना [email protected] ; मा सूचना दिन उक्त साईबर ब्यूरोका प्रवक्ता /एसपी दिपक अवस्थीले जानकारी दिनु भयो ।





