काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय पर्सा तस्करी नियन्त्रणमा आक्रामक देखिएको छ। पछिल्लो एक महिनामा पर्सा प्रहरीले ८ करोड १२ लाख ८ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ।

एक महिनाअघि प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। आफ्नो सुरुवाती कार्यकालमै उनले तस्करीविरुद्ध कडा अभियान सञ्चालन गरेका छन्। माघ १४ देखि फागुन १४ सम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले तस्करीमा संलग्न विभिन्न ट्रक नियन्त्रणमा लिई भन्सार छलीको सामान बरामद गरेका छन्। पक्राउ परेका ट्रकहरू राजस्व अनुसन्धान कार्यालय पथलैया तथा भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

त्यस्तै, प्रहरीले २३ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत २८ कठ्ठा जग्गामा लगाइएको १३ हजार ४०० बोट गाँजा, एक कठ्ठामा लगाइएको ५०० बोट अफिम नष्ट गरिएको छ। साथै, ७६ किलो ८०० ग्राम गाँजा र २५ किलो चरेस बरामद गरिएको छ।

फैसला कार्यान्वयनतर्फ ३४४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जसबाट ४८ लाख ४७ हजार रुपैयाँ जरिवाना संकलन भएको तथा १५ वर्ष १० महिना २२ दिन कैद कार्यान्वयन भएको प्रहरी प्रवक्ता डीएसपी सुभास भट्टले जानकारी दिए।

घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत विभिन्न स्थानका १४ वटा रक्सी भट्टीमा छापा मार्दै ९ हजार ६५० लिटर कच्चा पदार्थ र ६४० लिटर तयारी मदिरा नष्ट गरिएको छ। होटलहरूमा महिलाहरूलाई यौनधन्दामा संलग्न गराइएको सूचनाका आधारमा चार होटलमा छापा मार्दै ६ महिलाको उद्धार गरिएको छ भने चार होटल सञ्चालकमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

एसपी मिश्रको ३० दिने कार्यकालमा विभिन्न प्रकृतिका ६ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। संलग्न ६ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ। प्रहरीको आयोजनामा ६२१ वटा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट २२ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।

‘प्रहरी सम्पूर्ण नागरिकको साथमा छ, ढुक्क भएर कुनै पनि विकृति वा अपराधबारे समयमै सूचना दिन पर्साबासीलाई आग्रह गर्दछु,’ एसपी मिश्रले भने। उनले अपराध नियन्त्रणका लागि नागरिकको सहयोग महत्त्वपूर्ण रहेको भन्दै सूचनादाताको गोपनीयता सुरक्षित रहने प्रतिज्ञा गरेका छन्।

एसपी मिश्रको कडा अभियानका कारण तस्करी, हुण्डी, लागुऔषध कारोबारी र आपराधिक प्रवृत्तिका मानिसहरू त्रसित बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय