
काठमाडौं — निर्देशक दीपक रौनियार निर्देशित फिल्म राजागञ्ज को टिजर सार्वजनिक भएको छ। केही दिन अघि मात्र रिलिज गरिएको टिजरले थुप्रै दर्शकमाझ उत्साह पैदा गरेको छ।
फिल्ममा सात पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। यसमा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, र नीरज श्रेष्ठलगायत कलाकारको अभिनय छ।

राजागञ्ज ले भेनिस, ह्याम्बर्ग, बुसान, र मुम्बई जस्ता प्रतिष्ठित सिनेमा महोत्सवमा प्रभाव जमाइसकेको छ। गत कात्तिक महिनामा मात्र पाँच अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ भएको यो फिल्मले भेनिस फिल्म फेस्टिभलमा १० मिनेटसम्म स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो।
नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले सञ्चालन गरेको खोजी अपरेशनमा आधारित यो फिल्म सत्य घटनाबाट प्रेरित छ।

नेपाली फिल्ममा महिला चरित्र : परम्परागत साँचो कहिलेसम्म टिक्ने?
हालै सार्वजनिक भएका नेपाली फिल्मका ट्रेलरहरू हेर्दा एउटै प्रवृत्ति दोहोरिएको देखिन्छ— महिलाहरूलाई कमजोर, असहाय, र दोस्रो दर्जाको पात्रका रूपमा चित्रण गर्ने परम्परा अझै कायम छ। मुख्य पात्र सधैं पुरुष, र महिला पात्र तिनको सहायक मात्रै।
‘प्लान इन्टरनेसनल’ र ‘डकस्कुल’ द्वारा केही वर्षअघि गरिएको अध्ययनले पनि देखाएको छ— नेपाली फिल्मको संख्या बढे पनि महिला चरित्रको प्रस्तुति उस्तै छ। ५ दशकअघि बनेका आमा र माइतीघर बाट सुरु भएको यो यात्रा अहिले पनि उस्तै छ, जहाँ महिलाको भूमिकालाई सीमित गरिन्छ।
तर, अपवादहरू पनि छन्- आर्ट हाउस फिल्महरूले यो परम्परा तोड्ने प्रयास गरेका छन्। मीनबहादुर भामको शाम्बाला, छिरिङ रितार शेर्पाको मुकुण्डो, जस्ता फिल्ममा परम्परागत महिला चरित्रको साँचो बदल्ने कोशिस देखिन्छ। यी फिल्ममा महिलाहरू समस्याको सामना गर्दै आत्मसम्मान र स्वाभिमानका लागि संघर्ष गरिरहेका हुन्छन्।
यस्तै, दीपक रौनियारका फिल्महरूमा पनि फरक खालका महिला पात्र देख्न पाइन्छ। उनको फिल्ममा पुनःपुनः देखिने ‘पूजा’ पात्रहरू सशक्त, स्वतन्त्र, र निडर छन्। ती चरित्रका कमजोरीहरू उजागर गरिन्छ, तर तिनलाई महिला भएकै कारण कमजोर देखाइँदैन।
नेपालको फिल्म उद्योगले समाजमा विद्यमान वास्तविक महिला चरित्रहरूलाई यथार्थपरक रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता छ। जबसम्म नेपाली फिल्मले महिलालाई सम्मानजनक रूपमा चित्रण गर्न सक्दैन, तबसम्म हाम्रो फिल्म उद्योग साँच्चै परिपक्व भएको मान्न सकिन्न।
दीपक रौनियार, फिल्म निर्देशक भन्नुहुन्छ:— “हामीले समाजमा भएका चरित्रहरूलाई देखाउन सकेनौं । सेलिब्रेट गर्न सकेनौं भने अरू के गर्न सक्छौं र ? फिल्मकर्मीका हिसाबले समाजमा भएका पात्रहरूलाई देखाउने, सेलिब्रेट गर्ने जिम्मेवारीबोधले नै यस्ता चरित्रहरू जन्माउँछौं ।”
राजागञ्ज ले सात महिला पात्रलाई प्रमुख भूमिकामा प्रस्तुत गरेर नेपाली फिल्ममा महिला चरित्रको चित्रणबारे नयाँ बहस सुरु गर्ने सम्भावना बोकेको छ। अब समय आएको छ— नेपाली सिनेमाले महिलालाई पुरानो साँचोबाट बाहिर निकालेर सशक्त रूपमा प्रस्तुत गरोस्।
निर्देशक रौनियारलाई द न्यूयोर्क टाइम्स ले संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। ब्राजिलियन लेखक पाओलो कोहेलोले समेत सार्वजनिक रूपमा उनको प्रशंसा गरेका थिए।
नेपालमा राजागञ्ज लाई टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा रिलिज गर्नेछन्। फिल्म चैत १ गतेदेखि देशभर प्रदर्शन हुँदैछ।




