
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब ‘The Blue Pavilion’भवनको शनिबार आयोजित समारोहबीच उद्घाटन गर्नुभएको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको ऐतिहासिक विकासक्रमलाई समेटेर तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’पुस्तकको विमोचन गर्नुभयो। साथै, नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गर्नुभयो।

समारोहमा प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पुर्याउने प्रा.डा. द्वय शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा योगदान दिने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीलगायतलाई प्रशंसापत्र प्रदान गर्नुभयो।
प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ गर्दै प्रहरी सेवा प्रभावकारी बनाउने विश्वासव्यक्त गर्नुभयो। साथै, प्रहरी संगठनलाई सक्षम, निष्पक्ष र कानूनबमोजिम कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उहाँले कुनै पनि प्रभाव, भनसुन वा दबाबमा नपरी न्यायसंगत ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी मुलुकको स्थायित्व, शान्ति तथा सुरक्षाका लागि महत्त्वपूर्ण संगठन भएको बताउँदै प्रहरी कर्मचारीहरूको समग्र विकासका लागि नेपाल पुलिस क्लबले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। साथै, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध जस्ता चुनौती न्यूनीकरण गर्न प्रहरीलाई थप ऊर्जाशील, व्यावसायिक र परिश्रमी हुनुपर्नेमा जोड दिनुभयो।

गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरी नागरिक सुरक्षाको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै संगठनलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार आवश्यक रहेको बताउनुभयो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको जिम्मेवारी र समसामयिक सुरक्षा चुनौतीबारे चर्चा गर्दै नवनिर्मित भवनले प्रहरी कर्मचारीको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले स्वागत मन्तव्य राख्नुभएको उक्त समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। ७५ करोड ८७ लाख २९ हजार ८३० रूपैयाँ ४५ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको हो।
समारोहमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक/विकास सल्लाहकार युवराज खतिवडा, पूर्व मन्त्री तथा पूर्व प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, नेपाल सरकारका सचिवहरू, नायव महान्यायाधिवक्ता, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुख, प्रहरी अधिकृत तथा जवानहरू लगायतको उपस्थिति रहेको थियो।




