
दमक — जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामान सहीत ६६ जना तस्करलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीवार सार्वजनिक गरेको ६ महीने प्रगती विवरणमा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा चौतर्फी प्रगति देखिएको छ।
गत साउन देखी पुस मसान्त सम्म भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको बिभिन्न प्रकारको सामान बरामद गरी भन्सारमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। तस्करीमा प्रयोग गरिएको २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई रिक्सा, १०८ थान मोटरसाईकल, साइकिल १४ थान बरामद गर्नुका साथै तस्करीमा संलग्न ६६ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको एसपी घिमिरेले बताएका छन्।

हुण्डी कारोबारबाट १५ लाख रुपैयाँसहित ३ जना मानिसलाइ पक्राउ गरेको छ। प्रहरीले चोरीको २ थान स्कार्पियो, २१ वटा मोटरसाइकिल र चोरीमा संलग्न २४ जना मानिसलाइ पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो।
सोही अवधिमा कर्तव्य ज्यानको ९ वटा मुद्धा दर्ता भएको मध्ये ५ वटा फर्छौट भएको छ । गत आवको सोही अवधिमा ४ वटा कर्तब्य ज्यान सम्बन्धि मुुद्धा दर्ता भएकोमा २ वटा फर्छौट भएको थियो।
त्यस्तै, जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छ्यौट भएको छ। गत आवको सोही अवधिमा २१ वटा मुद्धा दर्ता भएको र १६ वटा फर्छौट भएको थियो । लागूऔषध तर्फ १५ मुद्दा दर्ता १४ फर्छ्यौट, गत आवको सोही अवधीमा ११ वटा मुद्धा दर्ता भएकोमा १० वटा फर्छौट भएको थियो ।
यसैगरी हात हतियार खरखजाना सम्बन्धि ६ वटा मुद्धा दर्ता भएकोमा ५ वटा फर्छौट भएको छ । चालू आवको ६ महिनामा चोरी सम्बन्धि ३८ मुद्धा दर्ता र सबै फर्छ्यौट गत आवको सोही अवधिमा ३५ वटा मुद्धा दर्ता तथा फर्छौट भएको थियो ।
मुद्रा सम्बन्धि ४ वटा मुद्धा दर्ता र सबै फर्छौट भएको छ । एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ६ महिनामा २ सय ६४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।
राष्ट्रिय तथा सामुदायिक वन बाट तस्करले अबैध रुपमा कटान गरी ल्याएको करीब ११८ क्यूफिट सालको गुलिया काठ, ३ ट्रली बालुवासँगै नदी जन्य पदार्थ ढुवानीमा प्रयोग गरिएको २३ वटा सवारीसाधन प्रहरीले नियन्त्रमा लिएको थियो। उक्त कारवाहीबाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरिएको थियो।
उता, रौतहटस्थीत ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधनलाई गरेको कारवाहीबाट ६८ लाख २४ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांक उल्लेख छ।



