सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीका दुई वटा गाडी बरामद गरेको छ। ट्राफिक अपराध नियन्त्रण र सवारी सुरक्षालाई प्राथमिकतामा राख्दै सादा पोसाकमा परिचालन गरिएको विशेष टोलीले धरान र इटहरी क्षेत्रबाट लाखौँ मूल्य पर्ने गाडी बरामद गरेको हो।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार पछिल्लो समय चोरीका सवारी साधन सञ्चालनमा आएको सूचनाका आधारमा विशेष निगरानी र अनुसन्धान सुरु गरिएको थियो। सोही क्रममा ट्राफिक प्रहरीको सक्रियताले दुई वटा चोरीका गाडी बरामद गर्न सफलता मिलेको उनले बताए।

बरामद गरिएका गाडीको सम्बन्धित कम्पनीसँग सोधखोज गर्दा गाडीमा उल्लेख गरिएको इन्जिन नम्बर र चेसिस नम्बर आधिकारिक विवरणसँग मेल नखाएको पुष्टि भएको छ। त्यस्तै, गाडीमा प्रयोग गरिएको नम्बर प्लेटका सम्बन्धमा यातायात व्यवस्था कार्यालयसँग बुझ्दा उक्त नम्बर प्लेट नै दर्ता नभएको खुलेको एसपी गिरीले जानकारी दिए।

यसबाट गाडी चोरी गरी अवैध रूपमा प्रयोग गरिएको पुष्टि भएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय