
काठमाडौं । जेनजी आन्दोलनपछि दसैंमा काठमाडौंका सडकमा प्रहरीको उपस्थिति न्यून देखिए पनि तिहारमा भने प्रहरी सक्रियता उल्लेखनीय रूपमा बढेको देखियो। प्रहरीको यही सक्रिय उपस्थितिका कारण चाडपर्वमा कुनै ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ।
“तिहारको दिन काठमाडौं उपत्यकामा सामान्य प्रकृतिका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएका छन्,” ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार तिहारको दिन ट्राफिक प्रहरी प्रमुखसहितको टोली सडकमा खटिएको थियो। “प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन,” उनले थपे।

उनका अनुसार उपत्यकामा मात्रै १९९ जना चालक मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका छन्। तीमध्ये १५ जना सामान्य घाइते भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको थियो। उनले भने, “तिहारमा लापरबाही तरिकाले सवारी चलाउनेविरुद्ध सिसी क्यामेराबाट निगरानी बढाइएको थियो, सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति थियो।”
उनका अनुसार भक्तपुर, ललितपुर, नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की, चाबहिलजस्ता व्यस्त क्षेत्रमा प्रहरीहरू निरन्तर सवारी आवागमन व्यवस्थापनमा जुटेका थिए। अधिकारीले आफू स्वयम पनि दिनभर सडकमा खटिएको बताए।
“भाइटीका भन्दा ठूलो हाम्रो कर्तव्य हो — नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो,” एसएसपी अधिकारीले टोलीका सदस्यहरूलाई सम्बोधन गर्दै भने, “चाडपर्वका बेला सवारी दुर्घटना र मापसेका घटना बढी हुने भएकाले ट्राफिक प्रहरी सर्तक रहनु अत्यावश्यक छ।”



