
वीरगञ्ज, भदौ २२ गते। वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षामा बसेका छोरा पक्राउ परेका छन्। परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको सूचना पाएपछि क्याम्पस प्रशासनले चेकजाँच गर्दा घटना खुलेको हो।
क्याम्पस प्रमुख मोहन यादवका अनुसार मानविकी संकाय अन्तर्गत स्नातकोत्तर तह (राजनीतिशास्त्र) तेस्रो सेमेष्टरको परीक्षामा प्रवेशपत्रमा बुवाको नाम मोहम्मद शहाबुद्दीन रहेको तर फोटोमा छोराको तस्वीर देखिएपछि पक्राउ गरिएको हो। सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी मोहम्मद शहाबुद्दीनकै नाममा परीक्षा दिइरहेका उनका २५ वर्षीय छोरा मोहम्मद अफताब पक्राउ परेका हुन्।

पक्राउ परेका अफताबलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको क्याम्पस प्रशासनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले अफताबलाई वडा प्रहरी कार्यालय बिर्तामा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
क्याम्पस प्रशासनका अनुसार बुवा शहाबुद्दीन र छोरा अफताब दुवैजनामाथि त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कारबाही हुनेछ।
मोहम्मद शहाबुद्दीन नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति समेत हुन्।
एसपी मिश्रले भन्नुभयो, “अर्कैको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जना पक्राउ परेका हुन्। शिक्षा ऐनमा जे व्यवस्था छ त्यहीअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।”



