
डडेल्धुरा — अजयमेरू गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई तीन रोपनी जग्गा औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
आज अजयमेरू गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष रमेश प्रसाद बाहुनको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी सुगन्ध श्रेष्ठलाई जग्गा हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा गाउँपालिका प्रमुख उमेश प्रसाद भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

साथै उक्त कार्यक्रममा उपाध्यक्ष बसन्ती पाल, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठ, मालपोत कार्यालय डडेल्धुराका प्रमुख कमलापती भट्टलगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि भट्टले स्थानीय शान्ति, सुरक्षा र प्रहरी सेवाको प्रभावकारिता वृद्धिका लागि गाउँपालिकाले दिएको यो योगदान महत्वपूर्ण भएको बताउनुभयो।
डीएसपी श्रेष्ठले जग्गा हस्तान्तरणसँगै प्रहरी कार्यालयका लागि छुट्टै संरचना निर्माणको बाटो खुलेको बताउँदै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो।
साथै, आर्थिक वर्ष २०८२/८३ मा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहत विभिन्न स्थानहरूमा सातवटा नयाँ प्रहरी चौकी निर्माण गरिनेछ। संघीय सरकारको बजेटबाट ४ वटा र प्रदेश सरकारको सहयोगमा ३ वटा गरी कुल ७ वटा प्रहरी भवन निर्माण हुने योजना छ।
जग्गा हस्तान्तरणसँगै डडेल्धुरामा प्रहरी सेवाको पूर्वाधार सुदृढीकरण भई शान्ति सुरक्षाको अवस्था अझ मजबुत हुने अपेक्षा गरिएको छ।





