म प्रहरी हुँ।

संविधानले मलाई दिएको कर्तव्य हो—तपाईँहरूको जिउ ज्यान को सुरक्षा गर्नु। म तपाईँ निदाउँदा जागिरहन्छु, तपाईँ उत्सव मनाउँदा भीडभाड नियालिरहन्छु। मेरो हातमा देखिने बन्दुक रहर होइन, बाध्यता हो—देशलाई जोगाउने जिम्मेवारीको प्रतीक।

तर आज म थकित छु, पीडाले भरिएको छु।
शान्तिपूर्ण भनिएको आन्दोलनमा परिवर्तनको आवाज थियो—म पनि सहमत थिएँ। नयाँ पुस्ताले अवसर पाउनुपर्छ, भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने तपाईँहरूको स्वर उचित थियो। तर त्यो स्वरमा कतैबाट हिंसाको विष मिसाइयो। संसद भवन जलाउने, सिंहदरवार जलाउने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, प्रहरीलाई जिउँदै जलाउनेजस्ता घटनाले आन्दोलनलाई मात्र होइन, भविष्यलाई नै दाग लगाइदियो।

सबैभन्दा ठूलो पीडा भनेको—यो क्रममा रगत बग्यो। केही भाईबहिनिहरु घाइते भए, केही निर्दोष Gen Z युवाले ज्यान गुमाए। म प्रहरी हुँ, तर ती तिमिहरू पनि मेरा सन्तान झैँ थिए। तपाईँहरूको मृत्यु देख्दा मलाई आफ्नै भाईबहिनि छोराछोरी गुमाएजस्तो पीडा भएको छ। म सुरक्षाकर्मी हुँ, तर पहिलोचोटि नागरिक भएर मेरो मुटु रुँदै छ।

त्यसैबीच, मेरो सहकर्मीहरूलाई कार्यालयमै जलाइयो, पोसाक च्यातियो, निर्ममतापूर्वक ज्यान लिइयो। उनीहरू पनि तपाईँजस्तै सामान्य नागरिक नै थिए—भाडाको कोठामा परिवार पाल्ने, तलबको भरमा जीवन धान्ने साधारण मान्छे। प्रहरीलाई अपमान गर्नु भनेको केवल पोसाक च्यात्नु होइन, देशको सुरक्षाको प्रतीक च्यात्नु हो।

म नागरिकलाई कहिल्यै शत्रु देख्दिनँ। तपाईँहरू नै मेरो परिवार हुनुहुन्छ। तर नागरिककै हातबाट प्रहरी जलाइयो भने—भोलि जब तपाईँलाई सुरक्षा चाहिन्छ, म कुन अनुहार लिएर तपाईँअगाडि उभिन्छु?

हामी सबै बुझ्नुपर्छ—सार्वजनिक सम्पत्ति हाम्रो साझा सम्पत्ति हो। प्रहरी हाम्रो साझा सुरक्षाकर्मी हो। प्रहरी बिनाको समाज कल्पना गर्नै सकिँदैन। आन्दोलनले आवाजलाई शक्तिशाली बनाउन सक्छ, तर हिंसा, हत्या र विध्वंसले त्यो आवाजलाई कमजोर मात्र बनाउँछ।

म प्रहरी हुँ—मेरो शरीरमा घाउ होला, तर मेरो आत्मामा अझ गहिरो पीडा छ। त्यो पीडा भनेको—मेरो आफ्नै नागरिकले मलाई शत्रु ठानेको पीडा, र मेरो आफ्नै साथीभाई, सन्तान सरह लाग्ने युवा आन्दोलनकारीको मृत्यु देखेको पीडा।

त्यसैले, साथीहरू—संविधानलाई बचाऔँ, प्रहरीलाई सम्मान गरौँ, आन्दोलनलाई विवेकपूर्ण बनाऔँ। परिवर्तन चेतनाबाट आउँछ, हिंसाबाट होइन।

जय नेपाल 🇳🇵

मदन उपाध्याय
धनगढी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय