
काठमाण्डौं—थाइल्याण्डमा सम्पन्न बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले नेपाल–भारत सम्बन्धमा नयाँ ऊर्जा थप्ने दिशामा सहकार्य अघि बढेको संकेत दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीच संवादका माध्यमबाट साना–ठूला जटिलता समाधान गर्ने गहिरो समझदारी बनेको जानकारी दिए। थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागिता जनाइसकेपछि शनिबार स्वदेश फर्के लगत्तै उनले पत्रकार सम्मेलन गरेका थिए।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको एक्लाएक्लै र संयुक्त भेटलाई ‘फलदायी’ भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ सुदृढ र व्यावसायिक बनाउने विषयमा गहन छलफल भएको बताए।
‘छिमेकीबीच कहिलेकाहीँ सानातिना समस्या देखिन सक्छ, तर ती समस्या संवादमार्फतै समाधान गर्ने गहिरो समझदारी हामीबीच बनेको छ,’ उनले भने, ‘भेटघाट फलदायी भयो, म खुसी छु र उहाँ (मोदी) पनि खुसी भएको महसुस मैले गरेको छु।’
भेटवार्तामा लगानी, व्यापार, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, दोधरा–चाँदनी क्षेत्रमा महाकाली नदीको सिँचाइ लगायतका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। यी सबै विषयहरू दुई देशको पारस्परिक हितसँग जोडिएका महत्वपूर्ण एजेन्डा हुन्।
यसैबीच, प्रधानमन्त्री ओलीले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी उपस्थित नहुने स्पष्ट पारे। तर भारतले सो कार्यक्रममा उच्चस्तरीय प्रतिनिधित्व गर्ने जानकारी दिइएको छ। ‘मोदीजी पहिले नै तय भएको युरोप भ्रमणमा जानुहुने भएकाले सगरमाथा संवादमा आउन भ्याउनुहुन्न, तर भारतको राम्रै स्तरबाट सहभागिता हुनेछ,’ प्रधानमन्त्री ओलीले जानकारी दिए।



