काठमाण्डौं— नेपाल प्रहरीले अनलाइन जुवा (सट्टेबाजी) कारोबारमा संलग्न २४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली नागरिक रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरू आठभन्दा बढी बेटिङ साइट प्रयोग गरी अवैध जुवा सञ्चालन गरिरहेका थिए।

पक्राउ पर्ने नेपालीहरूमा प्यूठानका टङ्कबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, अशोक जिसी, सुजन जिसी, गोपाल बिष्ट, डोटीका तेज बोगटी, सुर्खेतका भीष्म वली, हेमन्त लोहनी र दार्चुलाका हेमन्त धामी रहेका छन्। भारतीय पक्राउ पर्नेहरूमा अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकाश कुमार छन्।

उनीहरूले भारतीय बेटिङ एजेन्टहरूसँग सामाजिक सञ्जालबाट सम्पर्क गरी अवैध अनलाइन जुवा सञ्चालन गरिरहेका थिए। खेलमा हारजित भएको रकम भारतका विभिन्न बैंक खातामा जम्मा गर्ने र निकासी गर्ने कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

एसपी आचार्यका अनुसार ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक रूपमा अनलाइन जुवा सञ्चालन गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा बुझाइएको छ।

अनुसन्धानका क्रममा प्रहरीले ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैंक एटिएम कार्ड, ८८ थान सिम कार्ड, १२ थान चेकबुक, आठ थान भारतीय आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेकाहरूले करिब रु तीन अर्ब चार करोड ७३ लाख ५६ हजार बराबरको अनलाइन जुवा कारोबार गरिसकेको देखिएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कानुनी कारबाही अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय