
काठमाडौँ ।काठमाडौँ जिल्ला अदालतबाट भागेका थुनुवा गंगबुस्थित बिजी मलबाट हतकडीसहित पक्राउ परेका छन्।
आइतबार थुनछेक बहसका लागि अदालत ल्याइएका चोरी मुद्दाका आरोपित २१ वर्षीय निराजन ठकुरी फरार भएका थिए। उनी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँको गंगबुमा बस्दै आएका थिए।

प्रहरीका अनुसार ठकुरी अदालतको शौचालयबाट भागेका थिए। फरार भएपछि उनलाई काठमाडौँ प्रहरी परिसर र मातहतका टोलीहरूले खोजी गर्दै आएका थिए।
काठमाडौँ प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार ठकुरीलाई सोमबार गंगबुस्थित बिजी मलबाट हतकडीसहित पक्राउ गरिएको हो। थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



