
ईलाम,असार १२ — “लागुऔषध दुरुपयोग विरुद्ध लडौं, रोकथाममा जोड दिऔं” भन्ने मूल नाराका साथ आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन, २०२५) सन्दर्भमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको समापन ईलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभा हलमा सम्पन्न भएको छ।
समापन कार्यक्रम ईलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति ईलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरू, वडा अध्यक्ष तथा सदस्यहरू, उद्योग वाणिज्य संघ ईलामका पदाधिकारी, यातायात व्यवसायी, आमा समूह, विभिन्न क्लब तथा विद्यालयका शिक्षक–विद्यार्थीहरू, सञ्चारकर्मी र स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो।
चेतनामूलक र्यालीपछि सभा हलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले कार्यक्रमको उद्देश्य, प्रभाव र आगामी योजनाबारे प्रकाश पार्नुभयो।
त्यसैगरी, “चेतना नाट्य समूह” र **“परिवर्तन नाट्य समूह”**ले लागुऔषध दुरुपयोगविरुद्ध जनचेतनामूलक सन्देश समेटिएका नाटकहरू प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा उपस्थित दर्शकमा प्रभावशाली सन्देश प्रवाह गरेको थियो।
कार्यक्रमले लागुऔषध सम्बन्धी चेतना फैलाउने तथा सामुदायिक सहभागितालाई मजबुत बनाउने उद्देश्यमा सघाउ पुगेको आयोजकहरूले बताएका छन्।



