सर्लाही ।सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा सडक विस्तारको क्रममा शनिबार बिहान दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले एक राउन्ड हवाई फायर समेत गर्नु परेको थियो।

झडपका क्रममा प्रहरी निरीक्षक दीवाकर गणेश घाइते भएका छन् भने अन्य दुई सर्वसाधारण आपसमा झडप हुँदा चोटपटक लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी प्रहरी निरीक्षक सिंहले दिनुभयो।

विवादित क्षेत्र खैराटोलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा तथा सशस्त्र प्रहरीसमेतको ठूलो संख्यामा टोली परिचालन गरिएको छ। अवस्था हाल सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

झडपको पूर्वसन्ध्यामा, बिहीबार सडक विस्तारको क्रममा एक महिलालाई लछारपछार गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानियस्तरमा तनाव चुलिएको थियो। त्यसयता विकसित विवादले शनिबार झडपको रूप लिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय