
काठमाडौं — उच्च अदालत पाटनले राजु पाण्डेलाई पुनः नगर प्रहरी प्रमुखको जिम्मेवारीमा काम गर्न दिन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।
न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई पदमा यथास्थितिमा राख्नुपर्ने आदेश दिएको हो।

अदालतको आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनको टुंगो नलागेसम्म निवेदकलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था देखिएन। त्यसैले निवेदकको नाममा गत जेठ २० मा महानगरपालिकाले जारी गरेको निलम्बन पत्र कार्यान्वयन नगरी, यथास्थितिमा राखी निवेदकलाई आफ्नो पदमा रहेर काम गर्न दिनु उपयुक्त देखिन्छ।”
साथै, अदालतले नगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण तथा निर्देशन दिने अधिकारी प्रमुख प्रशासकीय अधिकृत नै हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै, निवेदकले यसबारे कुनै अवज्ञा वा इन्कार गरेको प्रमाण नदेखिएको ठहर गरेको छ।
यसअघि काठमाडौं महानगरपालिकाले राजु पाण्डेलाई निलम्बन गर्दै नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको थियो। अदालतको आदेशपछि अब उनी पुनः सो पदमा फर्केर काम गर्न पाउने भएका छन्।



