काठमाडौं — कार्यालयमा थन्किएर बसेको पुरानो थुनुवा ओसार्ने टोयोटा भ्यानलाई प्रहरी वृत्त जनसेवाले पुनः मर्मत गरी ‘स्मार्ट अपरेसनल भ्यान’ मा रूपान्तरण गरेको छ। यो भ्यान अब अपराध अनुसन्धान, विपद् व्यवस्थापन र अपरेसनका लागि बहुउपयोगी बन्न पुगेको छ।

प्रहरी वृत्त जनसेवाका डिएसपी कृष्ण चन्दका अनुसार, भ्यानमा घटनास्थलको सुरक्षाका लागि आवश्यक सबै सामग्री—जस्तै क्यामेरा, कम्प्युटर, प्रिन्टर, सोको किट बक्स, उद्धार सामग्री, र अनुसन्धान अधिकृतहरूले प्रयोग गर्ने पोशाक—समावेश गरिएको छ। भ्यानमा वायरलेस इन्टरनेट सुविधा, ३० दिनसम्मको भिडियो रेकर्ड गर्ने क्षमतायुक्त सीसीटीभी, र भारतबाट मगाइएको विशेष साइरनसमेत जडान गरिएको छ।

घाइतेलाई बोक्न स्ट्रेचर, घटना स्थलमै प्रारम्भिक विश्लेषण गर्न सकिने उपकरणसहितको यो भ्यान अब अपरेसन र अनुसन्धानमा खटिने भएको छ। प्रहरीका अनुसार यो भ्यान विशेषगरी जघन्य अपराध वा विपद्का घटनाहरूमा तत्काल परिचालन गरिनेछ।

यस नवप्रयोगको नेतृत्व गरेका डिएसपी चन्दलाई अपराध अनुसन्धानमा नयाँ सोच र प्रविधिमैत्री प्रयोगका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले विशेष रूपमा पुरस्कृत गरेका छन्।

एसएसपी अधिकारी भन्छन्, “अबको अनुसन्धान प्रविधिमैत्री र दक्षताको आधारमा अघि बढ्ने हो। जनसेवा वृतको यो प्रयासले त्यो दिशामा उदाहरणीय काम गरेको छ।”

यो भ्यान पहिलोपटक २०५९ सालमा प्रहरी प्रधान कार्यालयले जनसेवा वृतलाई दिएको थियो। लामो समयपछि जीर्ण अवस्थामा पुगेको यो भ्यानलाई मर्मत गरेर सातवटा कार्यक्षेत्रमा प्रयोग गर्न सकिने गरी सुसज्जित बनाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय