
कैलाली — नियन्त्रणमा लिएका अभियुक्तहरू भाग्न खोजेपछि कैलालीको भजनी नगरपालिका–७ मा प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्।
टीकापुरमा गत जेठ १५ गते टेकेन्द्रसिंह विष्टमाथि भएको खुकुरी प्रहार घटनामा संलग्न रहेको आशंकामा प्रहरीले धनगढीका मिलन चन्द र अछामका रिदम ढुंगानालाई कैलारी गाउँपालिकाको शिवरत्नपुरबाट आज पक्राउ गरेको थियो। टीकापुर लैजाँदै गर्दा भजनी नपुगा पिसाब फेर्ने बहानामा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

घटनामा दुवै जनाको तिघ्रामा गोली लागेको छ। उनीहरूलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार टीकापुरस्थित घरनजिकैको क्याफेमा कफी पिइरहेका विष्टमाथि खुकुरी प्रहार भएको थियो। घटना लगत्तै फरार रहेका मिलन चन्द र रिदम ढुंगानालाई प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले शिवरत्नपुरबाट पक्राउ गरेको थियो।
डीएसपी सिंहका अनुसार, “पक्राउ परेकाहरूलाई गाडीमा टीकापुर लैजाँदै गर्दा भजनीमा पिसाब फेर्ने भनेर गाडीबाट झरेका थिए। त्यहीबेला भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको हो।”
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।



