बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको नाममा रहेको घरजग्गा लिलामी नगर्न उच्च अदालत पोखरा, बागलुङ इजलासले आदेश दिएको छ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाममा गरिएको लिलामी प्रक्रियामाथि रोक लगाउँदै अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशमा नेपालीको नाममा रहेको कुनैपनि घरजग्गा लिलाम नगर्न/नगराउन स्पष्ट रूपमा उल्लेख गरिएको छ।

उक्त आदेश उच्च अदालत नियमावली, नियम ४२(१) बमोजिम न्यायाधीश नातीबाबु लामिछानेको एकल इजलासबाट जारी गरिएको हो। आदेशमा आगामी असार ९ गते अन्तरिम आदेश सम्बन्धी छलफल गर्न विपक्षीलाई म्याद सूचना पनि जारी गरिएको छ।

यसअघि नेपालीको बागलुङ नगरपालिका–२ मा पर्ने कित्ता नं. ४५७, ४५८ र ४५९ मा बनेको ठूलो घर तथा कित्ता नं. ८८७ मा रहेको सानो घर राष्ट्रिय सहकारी बैंकले लिलामीमा राखेको थियो। ती सम्पत्तिहरू रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका थिए।

उक्त खरिदविरुद्ध देवकुमार नेपालीले अदालतमा निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेश माग्दै निवेदन दिएका थिए। सोही सन्दर्भमा अदालतले लिलामी प्रक्रिया स्थगन गर्ने आदेश दिएको हो।

नेपाली सहकारी ठगी मुद्दामा हाल कारागारमा बन्दी छन्। उनी जेलमा रहेका बेला घरजग्गा बिक्री भएको भन्दै सहकारी पीडितहरूले विरोध जनाउँदै आएका थिए। यसै सन्दर्भमा पीडितहरूले बैंकको बागलुङ शाखा घेराउसमेत गरेका थिए।

इमेज पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले नेपालीका करिब १ अर्ब रुपैयाँ बराबरका सम्पत्ति बैंकले २३ करोड रुपैयाँमा मात्र लिलामी गरेको आरोप लगाउँदै लिलामी प्रकृया अस्वाभाविक भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय