
बाँके — भन्सार प्रक्रिया अवलम्बन नगरी चोरी पैठारी गरी ल्याइएको करिब ६ क्विन्टल चिनी बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमबाट प्रहरीले बरामद गरेको छ। चिनीलाई ‘JEERA MASINO RICE’ लेखिएको चामलको २५ केजीको प्लास्टिक बोरा प्रयोग गरी लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले लुकेको अवस्थामा २४ बोरा चिनी बरामद गरेको थियो। तस्करहरूले चिनीलाई चामल भन्दै झुटो विवरणसहित ओसारपसार गर्ने प्रयास गरिरहेका थिए। तर, समयमै सूचनाको आधारमा प्रहरीले निगरानी गर्दै आवश्यक कारबाही अघि बढाएको हो।

बरामद चिनीको कुल तौल करिब ६ क्विन्टल रहेको र यसको बजार मूल्य झन्डै ५७ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ।
भन्सार छली गरेर ल्याइएको चिनी हाल अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन भन्सार कार्यालय नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।
उक्त सफल कारबाही इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (DSP) लक्ष्मी खनालको नेतृत्वमा गरिएको हो। प्रहरीले सीमा क्षेत्रबाट हुने अवैध कारोबार तथा भन्सार छलजति गतिविधिमा थप कडाइका साथ निगरानी र कारबाही बढाइएको जनाएको छ।




