
काठमाडौं । काठमाडौंको न्युरोडस्थित एक ज्वेलर्समा प्रहरीले छापा मारेर रु. २ करोड १ लाख ७८ हजार ३६० बराबरको सुन, हिरा तथा बहुमूल्य पत्थरजडित गरगहना बरामद गरेको छ।
काठमाडौँ महानगरपालिका–२२, प्युखास्थित कृष्णचोकमा रहेको ‘मुन्ना जेम एण्ड ज्वेलर्स’मा प्रहरीले छापा मारेको हो। उक्त पसल भारतको कलकत्ताका ४३ वर्षीय हाविबोर सेखद्वारा सञ्चालित थियो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार बिल भरपाई नभएका गरगहना बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा सो छापा मारिएको हो।

प्रहरीले पसलमा रीतपूर्वक खानतलासी गर्दा कुनै विल भरपाई नदेखिएको र अवैध रूपमा बिक्रीवितरणको तयारीमा रहेका गरगहना बरामद गरेको बताइएको छ।
प्रहरीले पसल सञ्चालक हाविबोर सेखसहित भारतीय नागरिक ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेखलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



