भैरहवा — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरी ल्याइँदै गरेको अवस्थामा २४ लाख ४५ हजार रुपैयाँ बराबरको १,३६९ थान कृत्रिम यौन खेलौना सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार, रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बाईपासमा मंगलबार चेकजाँचका क्रममा भारतीय ट्रक (UK 18 CA 2575) बाट ती सामग्री बरामद गरिएको हो।

पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको बिजनौर जिल्ला निवासी ४५ वर्षीय ट्रक चालक नसिब अहमद र कन्नौज जिल्लाका २६ वर्षीय देवेन्द्र कुमार सिंह रहेका छन्। उनीहरूलाई ट्रकसहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको नेतृत्वमा अवैध ओसारपसार विरुद्धको अभियान तीव्र पारिएको छ। प्रहरीका अनुसार, बैशाख २२ देखि जेठ २६ गतेसम्म मात्रै २ करोड ५२ लाखभन्दा बढी मूल्य बराबरको तस्करीका सामग्री नियन्त्रणमा लिइएका छन्।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारविरुद्ध पनि अभियान थालेको छ। हालसम्म ९ लाख ९१ हजार रुपैयाँभन्दा बढी मूल्यको नदीजन्य पदार्थ नियन्त्रणमा लिई जरिवाना गरिएको छ। यस क्रममा २६ वटा मालवाहक साधनसहित ८ जना व्यक्ति पनि नियन्त्रणमा लिइएका छन्।

प्रहरी उपरीक्षक क्षेत्री आफैं सादा पोशाकमा जिल्लाका संवेदनशील क्षेत्रहरूमा पुगेर अनुगमन गरिरहेका छन्। यसले मर्चवार, बगाहा, धकधई र कालीदहजस्ता सीमावर्ती क्षेत्रहरूमा भइरहेको चोरी निकासीमा कडाइ आएको छ।

क्षेत्री यसअघि पनि रुपन्देहीमा प्रहरी निरीक्षकका रूपमा कार्यरत रहिसकेका छन्, जसका कारण उनलाई स्थानीय भूगोल र तस्करीका मार्गबारे स्पष्ट जानकारी छ। प्रहरी संगठनमा अब्बल मानिने क्षेत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट “अख्तियार सेवा पुरस्कार” समेत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय