नवलपरासी —जिल्ला प्रहरी कार्यालय परासीले पछिल्लो एक महिनाको अवधिमा १ करोड ९ लाख ७४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

पश्चिम नवलपरासीसँग सीमा जोडिएको भारतीय नाकाबाट अवैध रूपमा भित्र्याइएका ती सामग्रीहरूलाई प्रहरीका विभिन्न इकाइ र गस्ती टोलीले नियन्त्रणमा लिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार, बरामद सामानहरूमध्ये सबैभन्दा धेरै मोबाइल फोनमा प्रयोग हुने ग्लास, कभर र एयरफोन रहेका छन्।

त्यसैगरी, २६ लाख ५९ हजार रुपैयाँ बराबरको भुइँमा बिच्छ्याउने टायल, १२ लाख ५४ हजार रुपैयाँभन्दा बढी मूल्यका किराना सामान, ८ लाख ७७ हजार रुपैयाँ बराबरका फेन्सी सामग्री, २ लाख ८६ हजार रुपैयाँको पशुपन्छीजन्य वस्तु, १ लाख ६३ हजार रुपैयाँ बराबरका पित्तलका मूर्ति, र २ लाख ६५ हजार रुपैयाँभन्दा बढी मूल्यका हार्डवेयर सामानहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएका सबै सामानहरू सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।

सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी र गस्ती अझ कडा पारेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय