
नुवाकोट — बढ्दो डिजिटल प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटनाहरूले गम्भीर मोड लिँदै गएका सन्दर्भमा तादी गाउँपालिका, नुवाकोटले विद्यालयस्तरीय साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ। इलाका प्रहरी कार्यालय खरानीटारको समन्वयमा सञ्चालित उक्त ७ दिने प्रशिक्षण कार्यक्रम अमरज्योती मा.वि. खरानीटारबाट सुरु भई श्री सुन्दरा मा.वि. सातविसेमा सम्पन्न भएको हो। अन्तिम चरणमा श्री रालुका मा.वि. मा कार्यक्रम सम्पन्न गरिनेछ।
कार्यक्रमको उद्घाटन तादी गाउँपालिकाका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल तथा इलाका प्रहरी कार्यालयकी प्रमुख प्रहरी निरीक्षक जयन्ती थापा विशेष अतिथिका रूपमा सहभागी थिए। करिब ६५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानिय प्रतिनिधिको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक सूचना प्रविधि अधिकृत पुरुषोत्तम वाग्ले, प्रहरी निरीक्षक जयन्ती थापा र प्रहरी सहायक निरीक्षक राजेश के.सी.ले साइबर अपराधबारे गहन जानकारी तथा व्यवहारिक उदाहरणमार्फत प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा विशेषगरी फेसबुक, इन्स्टाग्राम, टिकटक, म्यासेन्जरजस्ता सामाजिक सञ्जालमा देखिने ठगी, ब्ल्याकमेलिङ, हैकर आक्रमण, व्यक्तिगत गोपनीयताको हनन, डिजिटल बैंकिङ ठगीलगायत विषयहरूमा सचेतना प्रदान गरिएको थियो।

त्यसैगरी प्रशिक्षणको क्रममा सकारात्मक सोचको विकास, आत्मबल अभिवृद्धि, डिजिटल इथिक्स, तथा साइबर अपराध न्यूनीकरणका उपायहरूबारे समेत व्यवहारिक अभ्याससहित मनोपरामर्शसम्बन्धी सत्र सञ्चालन गरिएको थियो।
अध्यक्ष सन्तमान तामाङले आफ्नो मन्तव्यमा भने, “यस्तो कार्यक्रमले भविष्यका कर्णधारहरूलाई साइबर सुरक्षा सम्बन्धमा ज्ञान दिनुका साथै उनीहरूलाई सचेत बनाउँछ। यसले दीर्घकालीन रूपमा समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छु।”
यस अभियानले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूमा साइबर सुरक्षाको चेतना फैलाउने लक्ष्य लिएको छ। साइबर अपराधको बढ्दो जोखिमबीच यस्तो पहल स्थानीय सरकार र सुरक्षासंस्थाबीचको समन्वयात्मक प्रयासको उत्कृष्ट नमूना बनेको छ।
फोटो फिचर —





