काठमाडौं — भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले निजी प्रयोजनमा प्रयोग गर्दै आएको महँगो जर्मन लग्जरी कार मर्सिडिज बेञ्ज दुर्घटनामा परेको १८ दिन बितिसक्दा पनि क्षतिको यकिन विवरण आउन सकेको छैन।

जेठ ७ गते बिहान गौशालामा ब्रेक फेल भएको गोकर्णेश्वर यातायातको बसले ठक्कर दिँदा बीएसी मर्सिडिज बेञ्ज (ना.प्र. ९७७३) गाडीसहित सातवटा सवारीसाधन क्षतिग्रस्त भएका थिए। अन्य सबै सवारीसाधनको मर्मत तथा घाइतेको उपचार खर्च गोकर्णेश्वर यातायात कम्पनीले व्यहोरेको छ। तर, भाटभटेनीको मर्सिडिज बेञ्ज गाडीको क्षति मूल्य अझै सार्वजनिक भएको छैन।

उक्त गाडीको मर्मत सम्भव नभएपछि तुरुन्तै भारतको लखनउ पठाइएको थियो। ट्राफिक प्रहरीलाई विधिवत जानकारी नदिई गाडी विदेश पठाइएकोले बीमा दाबी प्रक्रिया पनि अघि बढ्न सकेको छैन।

गोकर्णेश्वर यातायात कम्पनीका अध्यक्ष भीमबहादुर बस्नेतका अनुसार अहिलेसम्म मर्मत र उपचारमा १६ लाखभन्दा बढी खर्च भइसकेको छ। अब भाटभटेनीको गाडीको मर्मत खर्च पनि कम्पनीले तिर्नुपर्ने अवस्था आए ५० लाख हाराहारी खर्च हुने अनुमान गरिएको छ।

बस दुर्घटनाका घाइतेहरू र अन्य सवारीसाधनहरूको क्षतिपूर्ति भुक्तानी भइसकेको भए पनि मर्सिडिज बेञ्जको पक्ष भने अझै यातायात कम्पनीसँग सम्पर्कमा गएको छैन।

कम्पनी अध्यक्ष बस्नेतले भने, ‘कम्पनीको दैनिक आम्दानी एक लाखभन्दा पनि कम छ। एकैपटक यति ठूलो रकम व्यहोर्नुपर्ने अवस्था आयो भने कम्पनीलाई संकट झेल्नुपर्छ।’

दुर्घटना क्षतिपूर्ति र बीमा प्रक्रियासम्बन्धी कानुनी नियमअनुसार घटनास्थलको प्रतिवेदन र तस्वीर आवश्यक पर्छ, जुन प्रक्रिया नपुगी गाडी भारत पठाइएकोले भाटभटेनी पक्षले पनि बीमा दाबी गर्न नसकेको देखिन्छ।

हालसम्म भाटभटेनीले ट्राफिक वा गोकर्णेश्वर यातायात कम्पनीसँग क्षति मूल्यांकन वा क्षतिपूर्तिसम्बन्धी कुनै स्पष्ट पहल गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय