मोरङ — मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीबाट चार जना किशोरी बेपत्ता भएका छन्। जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सम्पर्कविहीन बनेका ती बालिकाको हालसम्म कुनै अत्तोपत्तो लागेको छैन।

बेपत्ता हुनेमा सुन्दरहरैंचा–११, शुक्रबारेस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, तथा बेलबारी–२ स्थित कविर माध्यमिक विद्यालयमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेका छन्।

परिवारजनका अनुसार उनीहरू चारै जना साथी भेट्न जाने भनेर घरबाट निस्किएका थिए। तर, सोही दिनदेखि उनीहरू सम्पर्कविहीन छन्। बालिकाहरूको मोबाइल स्विच अफ रहेको र आफन्तले सम्भव भएका सबै ठाउँमा खोजी गर्दा पनि नभेटिएको जनाइएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बालिकाहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन्। “परिवारको उजुरीका आधारमा अनुसन्धान सुरु गरेका छौं,” उनले भने, “विभिन्न ठाउँमा सूचना प्रवाह गरेर खोजी भइरहेको छ।”

प्रहरीले सम्भावित स्थानहरूमा खोजी कार्य जारी राखेको बताउँदै नागरिकहरूलाई कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन्।

बेपत्ता बालिकाको खोजीका लागि परिवार, विद्यालय र स्थानीय समाज चिन्तित छन्। बच्चाहरू सकुशल फेला पारियोस् भन्ने सबैको कामना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय