
काठमाण्डौं— सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा शनिबार (जेठ १०) बेलुका प्रहरीले गोली प्रहार गरेको छ। घटनामा एक जना व्यक्ति घाइते भएका छन्।
लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीको गस्ती टोलीले उक्त व्यक्ति पक्राउ गर्ने प्रयास गर्दा गोली चलाउनुपरेको हो। प्रहरीले जनाएअनुसार गाँजाका पोका बोकेर आउँदै गरेका व्यक्तिलाई रोक्ने क्रममा ती व्यक्तिले प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि आत्मरक्षार्थ गोली प्रहार गरिएको हो।

कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार सुरुवातमा दुई राउन्ड हवाई फायर गरिएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि थप गोली चलाउनुपरेको जनाइएको छ।
प्रहरीको गोली लागेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका छन्। उनलाई नियन्त्रणमा लिएर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ। गोली घुँडादेखि तलको भागमा लागेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



