
काठमाण्डौं — स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमला र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ३८ वर्षीय सञ्जयकुमार साह रहेका छन्।
मंगलबार अपराह्न ४:३० बजे काभ्रेको बनेपा नगरपालिका–१४, साँगा चोकमा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा धमलाको रातो जेब्रा झोलाबाट नगद २५ लाख रुपैयाँ फेला परेको हो।

प्रहरीका अनुसार धमला र साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसन्धान थालिएको छ।
प्रहरी नायब उपरीक्षक एवं काभ्रे प्रहरीका सूचना अधिकारी मीनबहादुर घलेका अनुसार साँगा ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मीको संयुक्त चेकिङ अभियानबाट उक्त सफलता हात परेको हो।
पक्राउ परेका व्यक्तिहरूले रकमको स्रोत खुलाउन नसकेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।



