काठमाडौं, किर्तिपुर — ट्राफिक प्रहरी प्रभाग किर्तिपुरको आयोजनामा किर्तिपुर क्षेत्रमा पर्ने जलविनायकदेखि टौडहसम्म ट्राफिक सचेतना तथा सडक सुरक्षा जनचेतना कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र यात्रु–चालक सम्बन्ध सुधारजस्ता महत्वपूर्ण विषयमा केन्द्रित कार्यक्रमले जनस्तरमा सडक सुरक्षाको चेतना फैलाउने विश्वास गरिएको छ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग किर्तिपुरका प्रमुख, प्रहरी नायब निरीक्षक (प्रनानि) दिनेश तामाङ प्रमुख प्रशिक्षकका रूपमा उपस्थित रहे। उनले करिब १०० जना चालक र सहचालकहरूलाई प्रशिक्षण प्रदान गरे। प्रशिक्षणमा ट्राफिक नियम, व्यवहारिक अनुशासन, यात्रुहरूसँगको सह्रदयी व्यवहार, मापसे नियन्त्रण, र दुर्घटनापछि लिनुपर्ने प्राथमिक कदमहरूबारे जानकारी दिइएको थियो

प्रभावकारी प्रशिक्षणको मुख्य उद्देश्य—

प्रनानि  तामाङ अनुसार कार्यक्रमको मूल उद्देश्य चालक, सहचालक र यातायात क्षेत्रका मजदुरहरूलाई सजग, जिम्मेवार र अनुशासित बनाउनु हो। “यस्ता प्रशिक्षणहरूले चालकहरूलाई नियमपालनमा सचेत बनाउँछ र समग्र सडक सुरक्षामा दीर्घकालीन प्रभाव पार्छ,” उनले भने।

सडकमा देखिने संकेत चिन्हको व्याख्या, मापसे (मादक पदार्थ सेवन) नियन्त्रणसम्बन्धी कानुनी प्रावधान, दुर्घटनाको बेला अपनाउनुपर्ने प्राथमिक उपचार र सुरक्षाका उपाय जस्ता व्यावहारिक विषयवस्तुहरूले सहभागीसँग सकारात्मक प्रतिक्रिया पाएको थियो।

स्थानीय तहको सक्रिय सहभागिता—

कार्यक्रममा किर्तिपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष खिरमान सिंह बस्नेत (पृथ्वी), वडा सदस्यहरू र स्थानिय समुदायका प्रतिनिधिहरूको समेत सक्रिय उपस्थिति रहेको थियो। वडाध्यक्ष बस्नेतले सडक सुरक्षाका यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई स्थानीय तहबाट पूर्ण समर्थन गरिने बताए।

कार्यक्रममा सहभागी चालकहरूले प्रशिक्षणलाई अत्यन्त उपयोगी, व्यवहारिक र ज्ञानवर्धक बताएका छन्। उनीहरूले भविष्यमा यस्ता सचेतनामूलक कार्यक्रमहरू अझै व्यापक रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

ट्राफिक सुरक्षा कुनै एक निकायको मात्रै जिम्मेवारी नभई समाजका सबै तहको साझा उत्तरदायित्व हो। यस प्रकारका कार्यक्रमहरूले सडक सुरक्षाको क्षेत्रमा जनचेतना र सहभागिता दुवैलाई सुदृढ गर्दै, दुर्घटनारहित समाज निर्माणतर्फ सार्थक कदम चालिएको संकेत गर्छ। किर्तिपुरको यो पहल अन्य क्षेत्रका लागि पनि नमुना कार्यक्रम बन्न सक्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय