
सुरक्षा सरोकार/ काठमाण्डौं— नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूको राजीनामा हाललाई सिफारिस तथा स्वीकृत नगर्न सर्कुलर जारी गरेको छ। पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि यस्तो निर्देशन जारी गरिएको हो।
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सबै प्रदेश प्रहरी कार्यालय तथा अन्य सम्बद्ध निकायलाई पत्राचार गर्दै अत्यावश्यक अवस्थाबाहेक राजीनामा नस्वीकृत गर्न आग्रह गरेको छ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ, “हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्न हुन अनुरोध छ।”

हाल काठमाडौं उपत्यकामा शिक्षक र सहकारी पीडितहरूका आन्दोलन तीव्र भइरहेका छन्। त्यसैले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयले राजीनामा स्वीकृत प्रक्रिया रोक्ने निर्णय लिएको बुझिएको छ।



