
मोरङ — सशस्त्र प्रहरीले मोरङको दरिया र देवरिया नाकाबाट कवाडीको तस्करीलाई खुलेआम संरक्षण दिएको खुलासा भएको छ। यी नाकाबाट ठूलो मात्रामा कवाडी जन्य सामग्री भारततर्फ तस्करी भइरहेको छ। सशस्त्र प्रहरी बलका दरिया स्थित बीओपीका निरीक्षक राजन चन्द र रानी भन्सार स्थित प्रस्तावित गुल्मका डिएसपी राउतको संलग्नतामा नरेश यादवले ठूलो मात्रामा कवाडी तस्करी गराउँदै आएका छन्।
नेपालमा रिसाइकलिङ उद्योगहरूको संख्या बढ्दै गए पनि सशस्त्र प्रहरीकै मिलेमतोमा कवाडी तस्करी भइरहेको छ। व्यवसायीहरूले करोडौं रूपैयाँ लगानी गरी उद्योग सञ्चालन गरेका छन्, जसले सयौंलाई रोजगारी दिएको छ। तर, सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरू तस्करहरूसँग मिलेर प्लास्टिकजन्य कवाडी सामग्री भारततर्फ पठाउन सहयोग गरिरहेका छन्।

मोरङको मुख्य व्यापारिक नाका रानीसँगै रहेको देवरिया नाकाबाट तारले बाँधेर ठूलो मात्रामा प्लास्टिकका बोतलहरू भारततर्फ तस्करी गरिँदै आएको छ। यस तस्करीमा भारतीय तस्करहरू पनि सक्रिय छन्। भारतीय नागरिक अरुण र बरुण मुख्य लगानीकर्ता रहेको बताइन्छ, जसको कवाडी तस्करीको मुख्य सञ्चालक नरेश यादव रहेका छन्। सशस्त्र प्रहरीलाई मासिक १५ देखि २० लाखसम्मको घूस दिएर तस्करी निर्वाधरूपमा भइरहेको स्थानीय स्रोतहरू बताउँछन्।
नेपाल सरकारलाई ठूलो नोक्सानी
नेपालमा सञ्चालित रिसाइकलिङ उद्योगहरू अहिले कच्चा पदार्थ अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन्। सीमावर्ती सुरक्षा निकायहरूको मिलेमतोमा प्लास्टिक जन्य कबाडी भारततर्फ तस्करी हुँदा सरकारले कुनै राजस्व पाउँदैन।
भारतले अन्य देशबाट प्लास्टिक कबाडी आयातमा प्रतिबन्ध लगाएकाले तस्करीमार्फत नेपालबाट प्लास्टिक कबाडी भारत पठाइन्छ। यसको प्रत्यक्ष असर नेपालका रिसाइकलिङ उद्योगहरूमा परेको छ, जसले हजारौं नेपाली, विशेष गरी महिलाहरूको रोजगारी खोसिने खतरा बढाएको छ।
नेपाल सरकारले प्लास्टिक जन्य सामग्रीको तस्करी रोक्न कडा कदम चाल्न आवश्यक छ। सीमावर्ती नाकामा कडाइ गरिएमा नेपालमै कच्चा पदार्थ प्रशोधन गरी प्लास्टिकजन्य वस्तु उत्पादन गर्न सकिन्छ, जसले राष्ट्रिय अर्थतन्त्रलाई समेत बल पुर्याउनेछ।



