काठमाडौं – अभिनेता राज वल्लभ कोइरालाको पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक भएको छ। लाजिम्पाटस्थित दुषित प्रिन्स होटलमा आयोजित विशेष कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पत्रकार दिलभूषण पाठक, कवि विप्लव प्रतिक, र साहित्यपोस्टका प्रमुख अश्विनी कोइरालाले संयुक्त रूपमा पुस्तक विमोचन गरे।

कार्यक्रममा अभिनेता प्रदीप खड्का, निर्माता थमन भण्डारी, निर्देशक राजन भुषाल, गायक सत्यराज आचार्य, निर्देशक विनोद पौडेल, कलाकार निर्मल शर्मा, अनुरागमान सिंह कुँवर, फिल्म समीक्षक यज्ञश, निर्माता आर.के. पोखरेल, र व्यवसायी निर्वाण चौधरीको उपस्थिति थियो।

विमोचन समारोहमा कवि विप्लव प्रतिकले वल्लभको कविताको समीक्षा गर्दै ‘कविता भन्न लायक संग्रह तयार गरिएको’ बताए। उनले वल्लभलाई अभिनयसँगै कविता लेखनको यात्रा निरन्तर जारी राख्न आग्रह गरे।

वल्लभले आफ्ना केही कविताहरू गिटारको धुनमा वाचन गर्दा माहोल भावुक बनेको थियो। विशेष गरी आमा र छोरीका लागि लेखिएका कविता सुनाउँदा दीपाश्री निरौलाले आँसु थाम्न सकिनन्।

वल्लभले ठट्टा गर्दै भने, “उमेरको डाँडा उक्लिँदै जाँदा मानिस भावुक हुने रहेछ, म त गर्भबाटै कविता लेख्न थालेको हुँ।”

‘छोरी औरा’ को नाममा समर्पित यो कविता संग्रहमा १११ वटा कविता समेटिएका छन्। विमोचन समारोहमा दिलभूषण पाठकसहित केही अतिथिहरूले पनि वल्लभका कविताहरू वाचन गरेका थिए।

संग्रहको मूल्य रु. ४५० तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय