
काठमाण्डौं — पोखरास्थित वडा प्रहरी कार्यालय बैदामले ‘घर-घरमा प्रहरी’ अभियानको शुरुआत गरेको छ। वडाबासीको सुरक्षालाई प्राथमिकता दिँदै र पर्यटकीय क्षेत्रको सुरक्षा सुनिश्चित गर्न होटल प्रतिनिधि समाजको सहकार्यमा लेकसाइड क्षेत्रबाट अभियान सुरु गरिएको हो।
अभियानको उद्घाटन कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले गरे। उनले नागरिक र प्रहरीबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले थालिएको यो अभियान आगामी दिनमा कास्की जिल्लाभर विस्तार गरिने जानकारी दिए।


डीएसपी सन्तोष निरौलाका अनुसार ‘घर-घरमा प्रहरी’ अभियान अन्तर्गत पोखरा-६ का ४९,९४६ घरमा स्क्यान गर्न मिल्ने स्टिकर टाँस गरिनेछ। यो स्टिकर स्क्यान गरेर स्थानीय बासिन्दा वा पर्यटकले कुनै समस्या वा गुनासो तुरुन्तै प्रहरीलाई जानकारी दिन सक्नेछन्।
उनले अभियान दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको र यस क्रममा उठेका समस्याहरू समाधान गर्न छुट्टै युनिट खटाइने बताए।
अभियानको उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाले आफ्नो समर्थन र सहयोग व्यक्त गरेका थिए।पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी: अभियानले शान्ति सुरक्षामा ठुलो योगदान दिने विश्वास ब्यक्त गरे साथै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की: व्यवसाय प्रवर्द्धन र नागरिक सुरक्षाका लागि निरन्तर सहयोगको प्रतिबद्धता समेत जाहेर गरे ।
साथै सबै उपस्थितहरूले प्रहरी र समाजको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् !

अभियानलाई प्रभावकारी बनाउन रेवान पोखराले १० हजार स्टिकर र पोखरेली ट्याक्सी सेवा प्रालिले पाँच हजार स्टिकर सहयोग गर्ने घोषणा गरेका छन्।
‘घर-घरमा प्रहरी’ अभियानले नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय समुदाय र व्यवसायीको सहकार्यले कास्की जिल्लामा अपराध नियन्त्रण र प्रहरीप्रतिको धारणा सुधार गर्न यो अभियान मील का पत्थर सावित हुने विश्वास लिइएको छ।




