काठमाण्डौं। मन्त्रिपरिषद्को विधेयक समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयक पारित गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको हो ।

विधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत भएको छ । वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा तथा असइ, सइ र वरिष्ठ सइले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन् । तर, उनीहरूले पेन्सन भने जागिर सुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन् । तल्लो तहका प्रहरीले लामो समयदेखि यस्तो व्यवस्थाका लागि माग गर्दै आएका छन् ।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवाहद हट्ने भएको छ । तर, कहिलेदेखि हट्ने भन्ने विषय प्रस्ट भएको छैन । हाल ऐन कार्यान्वयनमा आएको पहिलो वर्ष ३० वर्षमा ६ महिना थप्ने, दोस्रो वर्ष एक वर्ष र तेस्रो वर्षमा दुई वर्ष अवधि थप गरी त्यसपछि सेवाहद हटाउने प्रस्ताव गरिएको छ ।

विधेयक समितिले पास गरेको दुवै प्रहरीसम्बन्धी विधेयक संसदमा लैजाने सरकारको तयारी छ । दुवै विधेयकलाई छिटो ल्याउने प्रयासमा आफू लागेको गृहमन्त्री लेखकले बताउँदै आएका छन् । विधेयक संसदबाट पनि पास भएपछि मात्र कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय