
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको हो । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजे मौन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत नपाइने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ निस्पक्ष बनाउन आयोगले ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने भएको छ । यस अवधिमा पालन भएन भएको बारेमा आयोगले सुक्ष्म अनुगमन गर्ने आयोगका प्रवक्ता नीता पोखरेलले जानकारी दिनुभयो ।
यही मंसिर १६ गते आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/ एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।
निर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८ सय ९६ र अन्य मतदाता ३ जना छन् । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदमा मात्र मतदान हुनेछ ।



