
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ विरुद्ध प्रहरीमा जाहेरी परेको छ । सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएको हो । केही दिनअघि उनले सो नगरपालिका अन्तर्गतको एक झोलुङ्गे पुल आवातजावत गर्दा सर्वसाधरणबाट रकम उठाउने गरेको कार्यको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिका उनीविरुद्ध कानूनी प्रतिवादमा उत्रेको हो ।
पुलमा तर्न २० रूपैयाँको टिकट काट्नु पर्ने भनिएपछि आशिकाले सरकारी लगानीमा निर्माण भएको भौतिक पूर्वाधार प्रयोगमा सर्वसाधरणबाट रकम असुल्न नपाइने भन्दै चर्को विरोध जनाएकी थिइन् । उनले टिकट काट्न व्यक्तिहरूलाई हप्कीदप्की गर्नुका साथै साइनबोर्ड फुटाउने र टिकटहरू च्यात्ने काम गरेकी थिइन् । आइन्दा उक्त पुलमा कर नउठाउन समेत उनले चेतावनी दिएकी थिइन् ।

नगरपालिकाले भने उक्त पुल आवातजावत प्रयोजनका लागि नभएर पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क लिइएको दाबी गरेको छ । यही विषयमा नगरपालिकाले आशिकाविरुद्ध बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो । भक्तपुर प्रहरी प्रवक्ता मोहनमणि अधिकारीले जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान सुरू भएको बताएका छन् ।



