काठमाडौं।‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो ।

दिवसको अवसरमा सरकारले आज १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामति सेवा पुरस्कारबाट पुरस्कृत गर्दैछ ।दिवसको अवसरमा आज सिंहदरबार परिसरमा विशेष कार्यक्रम राखिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुने छ ।

सिंहदरबार परिसरमा आयोजित विशेष समारोहमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई प्रधानमन्त्री ओलीले सम्मान समेत गर्ने कार्यक्रम छ । सम्मानका लागि यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको छनोट गर्न भने सकेन ।

दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ७ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।

२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो ।

हरेक साल १० जनालाई १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार दिइन्छ । यही पुरस्कार आज वितरण गरिने छ।

यस बर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी.,राजु प्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई बुनु राना र निल बहादुर पुर्जा मगर रहेका छन् ।

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, र केशव राज पार्धे रहेका छन् । त्यस्तै वेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल,सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद र राम माया गुरुङले पनि निजामती सेवा पुरस्कार पाएका छन् ।

यस्तै निजामती पुरस्कार पाउने अन्य कर्मचारीहरूमा डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहेका छन् ।

संघ, प्रदेश र स्थानीय तहमा दरबन्दीका करिब ६८ हजार भन्दाबढी कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये करिब ४२ हजार कर्मचारी संघ सरकारकै माहतहतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय